Logo

लोकतन्त्रमाथि खतराको घन्टी बजेपछि कांग्रेससँग सहकार्य आवश्यक ठानेँः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् । चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने बताए ।

“लोकतन्त्रमाथि खतराको घन्टी बजिरहेको समयमा लामो इतिहास भएका राजनीतिक दलप्रति जनताको भरोसा र विश्वास जगाउन आवश्यक छ । यसका लागि नेपाली कांग्रेससँग सहकार्य आवश्यक ठानेरै म यो गठबन्धनलाई बलियो बनाउन लागेको हुँ,”– उनले भने ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीचको कुराकानीबानट तत्कालीन विद्रोही माओवादी जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आएको स्मरण गरे ।

संयुक्त जनआन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको स्मरण गर्दै उनले गणतन्त्रलाई बचाउनु हामी सबैको कर्तव्य भएको बताए ।

उनले सामाजिक सञ्जालमा गाली गरेर नभई राष्ट्र निर्माण र लोकतन्त्रको रक्षाका लागि आत्मसमीक्षासहित समर्पित भई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउँदै यस सन्दर्भमा कोइरालाको उच्च साहस र दृढ इच्छाशक्तिबाट प्रेरणा मिल्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “कोइराला मेरा लागि जीवनभर प्रेरणाका स्रोत रहिरहनुहुनेछ । उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो । उहाँप्रति मेरो अगाध आस्था र विश्वास रहीरहनेछ ।”



प्रतिक्रिया दिनुहोस्