Logo

प्रधानमन्त्री प्रचण्डलाई गगनको सुझाव ‘विश्वविद्यालय सुधारका लागि निर्णायक हस्तक्षेप गर्नुहोस्’



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वविद्यालय सुधारका लागि निर्णायक हस्तक्षेप गर्न आग्रह गरेका छन् । आज (सोमबार) स्वर्गीय गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दे उनले विश्वविद्यालयमा हुने राजनीतिले यसको अवस्था कहालिलाग्दो भएको भन्दै सुधारका लागि निर्णायक हस्तक्षेपको आग्रह गरेका हुन् ।

विश्वविद्यालय कहालिलाग्दो बन्नुको कारण राजनीतिक दल नै भएको उनको दाबी छ । राजनीतिक दलको कारण नै अहिलेका विश्वविद्यालय थलामा परेको उनको आरोप छ । निर्वाचन प्रणालीका कारण सरकार मिलिजुली बन्ने गरेको र सोही बमोजिम विश्वविद्यालयको नेतृत्व पनि मिलिजुली हुने गरेको उनले बताए ।

‘हाम्रो निर्वाचनको कारणले गर्दा सरकार मिलिजुली बन्छ । हाम्रो सरकार मिलिजुली भएको हुँदा विश्वविद्यालयको नेतृत्व पनि मिलिजुली बनाउने तिर लाग्यौं । हामीले यतिधेरै भागबण्डा गर्यौं, गर्दागर्दै आजभोलि सहायक क्याम्पस चिफ पनि भागबण्डा गर्छौं । अब कन्ट्रोलर विश्वविद्यालयको हुँदैन, पार्टीको हुन्छ । उपकूलपति, शिक्षाध्यक्ष अहिले विश्वविद्यालयको होइन, राजनीतिक दलको हो । राजनीतिक दलको भागमा पर्दैपर्दै जाँदा विश्वाविद्यालयलाई हामीले झनझन तल लिएर गयौं,’– उनले भने ।

आज संविधान निर्माण भएर संघीय व्यवस्थामा गइसकेपछि पनि शिक्षाको व्यवस्थापन गर्ने आधारभूत कुराबाट सरकार र राजनीतिक दलहरु चुकिरहेको उनको दाबी छ । संघीय शिक्षा ऐनलाई उच्च प्राथमिकतामा राखेर संसद्मा तत्काल ल्याउन पनि उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्