Logo

संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अगाडि बढाउनेबारे शीर्ष नेताहरुबीच सहमति, समझदारीबाट कोशिस गरिने



काठमाडौं, १९ असार । प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा संसदीय समितिका सभाति छिट्टै चयन गर्ने सहमति बनेको छ । आज (मंगलबार) सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा लामो समयदेखि जेष्ठ सदस्यको सभापतित्वमा सञ्चालन हुँदै आएको संसदीय समितिको सभापति छिट्टै चयन गर्ने सहमति जुटेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सभामुख घिमिरेले आफूले संसदीय गतिविधिलाई स्तयरीय, प्रभावकारी, गतिशील बनाउने सन्दर्भमा शीर्ष नेताहरुसँग सुझाव मागेको र संसदीय समितिको सभापति चयनको विषयमा सहमति बनेको बताए ।

‘लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व निर्माण भएको छैन । जेष्ठ सदस्यबाट कामहरु भइरहेको स्थिति छ । त्यो परिस्थितिलाई अब तुरुन्त अन्त्य गर्नुपर्छ । यसमा तपाईँहरुको सल्लाह सुझाव के छ ? मलाई चुनाव गर भन्नु हुन्छ कि मिलाउनु हुन्छ कि यो तुरुन्त गरौं । तपाईँहरुले यसमा गर्नुभएन भने मैले आफ्नो स्टेप चाल्नुपर्ने हुन्छ भने । त्यसकै लागि उहाँहरुले संसदीय गतिविधिलाई प्रभावकारी पार्नका लागि यिनै कुरामा छलफल भयो,’– सभामुख घिमिरेले भने ।

संसद्मा गरिने गतिविधिहरुमा दल र दलका नेताहरु गम्भीर हुन आवश्यक रहेको उनको सभामुख घिमिरेको भनाई छ । संसदीय समितिको सभापति समझदारीपूर्ण गर्ने कि स्वतन्त्र ढंगबाट गर्ने भन्नेबारेमा निर्णय नभइसकेको र कमभर समझदारीका आधारमा अगाडि बढ्ने कोशिस हुने उनले बताए ।

गत वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको लामो समय वितिसक्दा पनि सभापति चयन हुननसक्दा विधेयकमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्