Logo

अर्थतन्त्र चलायमान बताउन सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छः अर्थमन्त्री महत



काठमाडौं, १९ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दवाब सिर्जना भएको उल्लेख गरे । “मुलुकको अर्थतन्त्रलाई चलायमान बताउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छ”, उनले भने ।

राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै उनले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दाबी गरे । देश आर्थिक हिसाबले समस्यामुक्त नभएको भन्दै उनले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त नहुने उनको जिकिर छ । “अर्थतन्त्रमा बहस चलिरहन्छ, समस्या आइरहन्छ, समाधानको बाटो पनि पहिल्याउँदै जाने हो”, उनले भने ।

अर्थमन्त्री महतले आवश्यकताको तुलनामा सम्बोधन गर्न सकिने विषय अन्त्यन्त कम रहेको उल्लेख गरे । “आवश्यकता र माग ठूलो छ, त्यसमा असन्तुष्टि आउनु स्वभाविक हो । धेरै विषय निर्णायकरुपमा सुधार गर्दै जानुपर्छ”, महतले भने ।



प्रतिक्रिया दिनुहोस्