Logo

प्रचण्ड नीतिः जनार्दन र वर्षमानलाई साईजमा राख्न विप्लवलाई महासचिवको प्रस्ताव



काठमाडौं, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकताको तयारीबारे अहिले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । माओवादीका केही नेताहरु लामो समयदेखि वाम एकताको प्रयासमा पनि छन् । सकेसम्म एकता, एकता सम्भव नरहेको खण्डमा मोर्चा बनाएर सहकार्य गर्ने नीतिमा माओवादी अगाडि बढेको छ । तत्कालीन जनयुद्दका कमाण्डरसमेत रहेका विप्लवले माओवादीबाट अलगिएर आफैं पार्टीको महासचिव बनेका थिए । विप्लव फेरि पुरानै घरमा फर्किदा पनि अध्यक्षपछिको महत्वपूर्ण पद महाचिवको कार्यभार पाउने धेरैको आँकलन छ ।

विप्लवलाई पार्टीमा भित्र्याएर माओवादीको शक्तिशाली नेताद्वय जनार्दशन शर्मा र वर्षमान पुनलाई साइजमा राख्ने चाहना प्रचण्डको रहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । प्रचण्डले विप्लवलाई शक्तिशाली महासचिव बनाउन चाहेको जानाकारहरु बताउँछन् ।

यता माओवादीका महासचिव देव गुरुङ कम्युनिष्टहरुका लागि पद ठूलो कुरा नभएको बताउँछन् । आफू पदको लागि कम्युनिष्ट आन्दोलनमा लागेको नभएर जीवनकालमा केही योगदान गर्नका लागि आफू कम्युनिष्ट आन्दोलनमा लागेको उनको तर्क छ ।

माओवादीभित्र विप्लवलाई पार्टीमा भित्र्याउन पर्ने मत बलियो छ । महासचिव गुरुङ पनि अप्रत्यक्ष रुपमा विप्लवका लागि ठाउँ खाली गर्न तयार रहेको बताउँछन् । ‘विचार मिल्ने घटकहरुकोबीचमा एकताको प्रयास निरन्तर चलिरहने प्रक्रिया हो । अहिले चल्ने हिजो नचल्ने, अहिले चल्ने भविष्यमा नचल्ने भन्ने विषय होइन । पदको लागि कम्युनिष्ट आन्दोलनमा लागेको विषय होइन । कम्युनिष्ट आन्दोलनमा लाग्ने भनेको त आफ्नो जीवन कालमा योगदान दिने कुरा हो । एकमुटी प्राण र एक थोपो रगत रहुँन्जेलसम्म कम्युनिष्ट आन्दोलनको लागि, समाजवादी क्रान्तिको लागि, साम्यवादसम्म पुग्नका लागि योगदान दिने कुरा हो,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

पार्टी एकताको वैचारिक, नीतिगत कुराहरु अहिले छलफलकै चरणमा रहेको महासचिव गुरुङको भनाई छ । छलफल अहिले संगठनात्मक विषयमा प्रवेश नै नभएकाले नीतिगत विषय टुंगोमा पुर्याएर निर्णयमा पुग्ने उनको भनाई छ । आफू पार्टीको निर्णय अनुसार चल्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्