Logo

चार दलीय मोर्चामा नसमेटिएका बाबुराम नयाँ मोर्चा बनाउने तयारीमा



काठमाडौं, १९ असार । नेपाल समाजवादी पार्टीले विचार मिल्ने शक्तिहरुसँग मोर्चा बनाउने भएको छ । हालै घोषणा भएको समाजवादी मोर्चामा सहभागी नभएको नेसपा आफैंले विचार मिल्ने शक्तिहरुसँग मोर्चा बनाउने तयारी थाल्ने भएको हो । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी तथा समूहसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणका लागि पहल गर्ने तयारी रहेको बताएका हुन् ।

विज्ञप्तिमा ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ भन्ने नाराका साथ पार्टीको केन्द्रीय कार्यकारिणी समितिले अभियानको नेतृत्व गर्ने र अभियान अवधिभरकालागि ‘केन्द्रीय अभियान परिचालन समिति’ र आवश्यक सचिवालय तथा उपसमितिहरू निर्माण गर्ने पनि उल्लेख छ ।

हालै घोषणा भएको समाजवादी मोर्चामा उनी समेटिन सकेका थिएनन् । उक्त मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा रहेका छन् । जसपाको अध्यक्ष उपेन्द्र यादवलाई पनि मोर्चामा ल्याउने कुराले चिढिएको बाबुरामले अर्को मोर्चा बनाउन पहल गर्ने भएका हुन् ।
File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्