Logo

जसले हामीलाई राजनीतिक स्थिरताको ग्यारेन्टी दिन्छ, उसलाई सहयोग गर्छौंः भक्ति सिटौला



काठमाडौं, २० असार । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेको समय सीमा भोलि सकिँदै छ । संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकार बनाउन प्रदेश प्रमुखले आह्वान गरेपनि हालसम्म कुनै दलले पनि बहुमत जुटाउन सकिरहेका छैनन् । संघीय सरकारमा रहेको सत्ता गठबन्धनले कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेपनि थापाले पनि बहुमत जुटाउन सकिरहेका छैनन् । कोशी प्रदेश सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले लविङ गरिरहेका छन् । कोशी प्रदेशमा सरकार बनाउनका लागि निर्णाय शक्तिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ ।

देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर कोशी सरकारमा सहयोगका लागि अपील गरेपनि राप्रपाको आधिकारिक धारणा सार्वजनिक भएको छैन । उक्त कोशी प्रदेश राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले कांग्रेस नेतृत्वको सरकारलाई असहयोग गर्ने धेरैको अनुमान छ । कांग्रेसमा नेता कृष्णप्रसाद सिटौलाका आफन्त रहेको भक्ति सिटौंला कांग्रेसभित्रकै आन्तरिक द्वन्द्वका कारण राप्रपामा प्रवेश गरेका थिए । राप्रपाबाट राजनीति गर्दैगर्दा पनि उनी कांग्रेसका कार्यकता र सुभेच्छुकहरुसँग एकदमै नजिक छन् ।

कोशी सरकारका लागि अहिले सत्ता गठबन्धन दलबाट कांग्रेस र प्रतिपक्षी दलबाट नेकपा (एमाले) ले कसरत गरिरहे पनि राप्रपा निर्णायक शक्ति रहेको छ । प्रदेश सभामा एमालेको एक्लै ४० सिट छ भने राप्रपाको छ सिट रहेको छ । राप्रपा र एमाले मिल्दा ४६ सिट हुन्छ भने यत्ता सत्ता गठबन्धन दलसँग पनि ४६ सिट नै रहेको छ । यस आधारमा राप्रपाले समर्थन नगरेको खण्डमा कोशीमा सत्ता गठबन्धनको सरकार बन्न असम्भव छ ।

कोशी प्रदेश, राप्रपा संसदीय दलका नेतासमेत रहेका सिटौला जुन पक्षले सरकारको स्थायित्वको ग्यारेन्टी दिनसक्छ, त्यही पक्षसँग मिलेर सरकार बनाउन सहयोग गर्ने बताउँछन् । आफूहरुले मन्त्री र मन्त्रालयभन्दा पनि राजनीतिक स्थिरता चाहेको उनले बताए । यद्यपि सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय नभइसकेको र आफूहरुलाई कम्फर्टेबल हुने शक्तिसँग मिलेर सरकारमा जाने उनले बताए । वार्ता टुंगिदा कांग्रेस नेतृत्वको सरकारमा आफूहरुको सम्मानजनक सहभागिता रहेको खण्डमा सरकारमा सहभागी हुन सकिने सम्भावना कायमै रहेको उनले बताए ।

‘वार्ता टुंगिएको छैन । वार्ता टुंगिदा सहमति भयो भने हामी गठबन्धनसँग पनि जान्छौं । एमालेसँग पनि थप वार्ता हुन्छ, कता कम्फर्टेबल हुन्छ, त्यतै गर्छौ हामी । सम्भावना अहिलेसम्म दुवैतिर मान्नुपर्यो । सकेसम्म चाहिँ सरकारमा जाने ध्येयभन्दा पनि राजनीतिक स्थिरता होस् भन्ने हो, यसमा कसले बढी हामीलाई राजनीतिक स्थिरताको ग्यारेन्टी दिन्छ, उसलाई हामी सहयोग गर्छौं । हाम्रो माग राजनीतिक स्थिरता हो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्