Logo

फेरि फसे प्रचण्ड



काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि विवादमा तानिएका छन्।

उनी बाहिरि कारण नभइ आफ्नै अभिव्यक्तिले विवादमा तानिने गरेका छन्। राजनीतिक विश्लेषकहरूले त प्रचण्डलाई पहिला बोल्ने अनि पछि पछुताउने नेताको रूपमा विश्लेषण गर्न थालिसकेका छन्।

प्रधानमन्त्री प्रचण्ड यसपटक सोमबार होटल याक एण्ड यतिमा सरदार प्रीतम सिंहको बारेमा उनकी छोरीले सिंहको नेपाल आगमनदेखिको संस्मरण समेटेर लेखेको पुस्तक ‘रोडस टू द भ्याली’ को विमोचन कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री बनाउन सिंह धेरै पटक दिल्ली धाएको बताएका थिए।

‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटि दिल्ली पनि जानुभयो। काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो,’ उनले भनेका थिए।

सोही कार्यक्रममा बोल्दै प्रचण्डले सिंहले आफूलाई धेरै ठूलो सहयोग गरेको र ठूली छोरीलाई क्यान्सर हुँदा पनि तिनै सिंहले ठूलै सहयोग गरेको हुँदा आफू उनीप्रति नतमस्तक रहेको समेत बताएका थिए।

प्रचण्डको सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको अभिव्यक्तिलाई लिएर ठूलै बहस भइरहेको छ। विभिन्न नेताहरू तथा राजनीतिक विश्लेषकहरूले टिकाटिप्पणी गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी दल एमालेले उनको अभिव्यक्तिलाई लिएर संसदीय दलको बैठकसमेत बुधबार १:३० बजेका लागि डाकेको छ।

यस्तै, प्रचण्डले पहिला नै दिएको अर्को अभिव्यक्तिले त देशमा ठूलै तहल्का नै पिट्यो। उनले विस २०७६ सालको माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिने बताएका थिए।

उनको सो अभिव्यक्तिलाई लिएर उनीविरूद्ध गत फागुन २२ गते सर्वोच्च अदालतमा मुद्दा नै परेको थियो।

सो मुद्दाको हालसम्म पनि पेशी नतोकिँदै प्रचण्ड अर्को अभिव्यक्तिले फेरि विवादमा तानिएका छन्।



प्रतिक्रिया दिनुहोस्