Logo

भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु, थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २० असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन्।

बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताए।

उनले भने, ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कार्वाही सुरू भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला- थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ।’

‘२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं। तर, पार्टी एकतावद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो’ उनले भने, ‘फेरि एउटा नयाँ परिस्थिति बनेको छ। माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ। पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ।’

‘घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियो’ उनले भने, ‘यो आफैमा वर्गसंघर्ष हो। वर्गसंघर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो। २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिनुपर्छ,दिन्छौं।’



प्रतिक्रिया दिनुहोस्