Logo

सहकारीप्रति मनोवैज्ञानिक ढंगले अविश्वास सिर्जना भएको छः परितोष पौडेल, अध्यक्ष नेफ्स्कुन



काठमाडौं, २० असार । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । विश्व आर्थिक मन्दीका असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको छ । त्यसमध्ये पनि सहकारी क्षेत्र धरासयी बनेको छ । नेपालको कूल अर्थतन्त्रको लगभग १९ प्रतिशतभन्दा बढी भार ओगटेको सहकारी क्षेत्र धरासायी हुँदा बचतकर्ताहरु मारमा परेका छन् ।

‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ मा रिपोर्टर्स क्लब नेपालले विशेष साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ । आज (बुधबार) क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहकारी विभाग, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकलगायतबाट प्रतिनिधित्व रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले सहकारी ऐनको कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौति बनेको बताए । सहकारीमा आजको अवस्था सिर्जना हुनुमा २०७४ सालमा आएको ऐन प्रभावकारी ढंगले कार्यान्वयन नहुनु रहेको उनले बताए । बचतकर्ता स्वयंले बचत सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको उनको भनाई छ । संस्थाको स्वामित्व, नियन्त्रण र फाइदाबारे सदस्य स्वयम सचेत हुन आवश्यक रहेको उनले बताए । उनले अहिले मनोवैज्ञानिक ढंगले सहकारी संस्थाप्रति अविश्वासको वातावरण सिर्जना भएको बताए ।

‘मनोवैज्ञानिक ढंगले संस्थाप्रति अविश्वास सिर्जना भएको छ । सञ्चालक समितिको निर्दिष्ट आचरणको समस्या होला एकातिर, अर्कोतिर त्योभन्दा द्रुत्ततर ढंगले सदस्यहरुको विश्वासमा समस्या सिर्जना भएको छ । सदस्यहरुको विश्वास र सञ्चालक समितिको निर्दिष्ट आचरणलाई जोड्ने काम सरकारले गर्नुपर्छ, हामीले गर्नुपर्छ,’– उनले भने ।

उनले सहकारी बिग्रिदा नेपालको अर्थव्यवस्था प्रणाली धरापमा पर्ने बताए । केही सहकारीको अवाञ्छित क्रियाकलापले सिंगो सहकारीमा समस्या र अविश्वासको वातावरण सिर्जना भएको उनको ठम्याईँ छ ।

सुमेरु सहकारीका सचिव विनोद आचार्यले आफूहरुको कारणलेमात्रै सहकारीमा समस्या नआएको स्पष्ट पारे । सुमेरु सहकारी संकटमा पर्नुमा अहिलेको विश्वमा देखापरेको आर्थिक मन्दी प्रमुख रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्