काठमाडौं,२१ असार । काठमाडौंका बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका तीन जना आरोपीतले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।
यस प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेका छ ।
उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।
रिट निवेदक गौतम मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन शाखा अधिकृत हुन् भने शाह पूर्व निर्वाचन आयुक्त र गुरुङ भाटभटेनी सुपरमार्केटका सञ्चालक हुन् ।
उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।