Logo

कांग्रेसको अडानः ‘प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ’



काठमाडौं, २१ असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्तिको विषयमा संसद्लाई जवाफ दिनुपर्ने बताएका छन् । हिजो (बु्धबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीले पु्स्तुत गरेको विषयको गम्भीरता र महत्वको आधारमा संसद्मा जवाफ दिनुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले संसद्लाई उठेको विषयको जवाफ दिएपछि राजीनामा नैतिकताको प्रश्न बन्ने उनको भनाई छ ।

‘प्रमुख प्रतिपक्षी दलले संसद्मा प्रधानमन्त्रीको राजीनामा त्यत्तिकै मागेको होइन होला, कुनै विषय छ होला । उठेको विषयको बारेमा प्रधानमन्त्रीले वास्तविकता के हो ? सदनलाई जानकारी गरिसकेपछि राजीनामाको विषय नहुन पनि सक्छ । राजीनामा कानुनी प्रश्न होइन, त्यो नैतिक प्रश्न होला, अर्को कुरा कु्न तहको नैतिक प्रश्न भन्ने हुन्छ । उहाँले राखेको विषयमा प्रमुख प्रतिपक्षी दलले केही त भनेर राजीनामा मागेको होला नि त ?’ प्रश्न गर्दै उनले भने, ‘त्यत्तिकै त प्रमुख प्रतिपक्षले राजीनामा मागेन । प्रस्तुत गरेको विषयको गम्भीरता, महत्व, त्यसको अहिलेको समय सन्दर्भ जोड्दाखेरी प्रधानमन्त्रीले प्रष्ट्यान पर्छ होला । त्यस पछाडि बल्ल अरु कुरा उठ्छ । अहिले राजीनामाको विषय महत्वपूर्ण होइन ।’

नेता विश्वकर्माले जनताको प्रतिनिधिहरुको सार्वभौम सदनप्रति प्रधानमन्त्री जवाफदेही बन्नुपर्ने बताए । सरकारले आफूप्रति संसद्मा प्रश्न उठ्ने वातावरण नै निर्माण गर्न नहुने र त्यस्तो परिस्थिति बनिसकेपछि जवाफ नदिएर धर नपाईने उनको भनाई छ । सार्वभौम संसद्ले संवैधानिक व्यवस्थाअनुसार बनाएको प्रधानमन्त्रीले त्यस्तो मनसायले अभिव्यक्ति दिन नपाईने उनले बताए । प्रधानमन्त्रीको मनशाय र प्रस्तुति प्रमाणित भएको खण्डमा राजीनामा दिनुपर्ने वातावरण बन्ने उनको भनाई छ ।

‘जनताका प्रतिनिधिहरुको सार्वभौम संस्था संसद् हो । संसद्ले बनाएको प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुन्छ, त्यसैले प्रधानमन्त्रीलाई प्रश्न पर्याप्तमात्रामा सोध्नुपर्ने, स्पष्टीकरण माग्नुपर्ने, प्रधानमन्त्रीका गतिविधिमाथि निगरानी राख्ने काम पनि संसद्ले नै गर्छ । त्यसो भएको हुनाले संसद्मा यस्ता विषय उठ्नुपर्ने स्थिति सरकारले बनाउन हुँदैन । बनिसकेपछि सरकारका प्रमुख व्यक्ति प्रधानमन्त्रीले त्यसलाई प्रष्ट्याउनु पर्छ ।’ उनले भने, ‘जुन कुरा भनिएको भनेर बाहिर आएको छ यदि त्यस्तो हो भने त्यो असहज नै हो, प्रधानमन्त्रीलेमात्रै होइन, कोही मन्त्रीले पनि त्यसो भन्न मिल्दैन । यदि त्यो कुरा मनशाय पनि त्यही, शब्द पनि त्यही, प्रस्तुति पनि त्यही हो भने जसले बोलेको हो व्याख्या गर्ने हक उहाँलाईमात्रै छ ।’



प्रतिक्रिया दिनुहोस्