काठमाडौं,२१ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका तीन आरोपीले दिएको बन्दी प्रत्यक्षीकरणसम्बन्धीको मुद्दा आजपनि हेर्न नमिल्नेमा परेको छ ।
यस प्रकरणमा पक्राउ परेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) को हिरासतमा रहेका सुधीरकुमार शाह,मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी को मुद्दा सुनुवाईका लागि पेसीमा तोकिएपनि हेर्न नमिल्नेमा परेको हो । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको भएपनि न्यायाधीश रेग्मी यसै मुद्धासँग जोडिएका व्यक्ति र कुनैबेला ओरोपी गुरुङको कानून व्यवसायीसमेत रहेको कारण उनले मुद्दा हेर्दा स्वार्थ बाँझिने भन्दै पेसी हेर्न नमिल्नेमा परेको हो ।
उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।
गत शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा सुनुवाइ गरी कारण देखाऊ आदेश जारी गर्दै २४ घण्टाभित्र लिखित कारण पेस गर्न आदेश दिएका थिए ।
यस प्रकरणमा पक्राउ परेका गुरुङ भाटभटेनी सुपरमार्केटका सञ्चालक हुन भने साह पूर्व निर्वाचन आयुक्त हुन् त्यस्तै गौतम डिल्लीबजार मालपोत कार्यलयका शाखा अधिकृत हुन् ।