Logo

मिटरब्याजसम्बन्धी विधेयक निष्कृय पार्न एमालले संसद् अवरुद्ध गरेको प्रधानमन्त्रीको सचिवालयको आरोप



काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले नेकपा (एमाले) ले मिटरब्याज सम्बन्धी विधेयकलाई निष्कृय पार्न संसद अवरुद्ध गरेको आरोप लगाएको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गर्दै एमालले त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजेको प्रधानमन्त्रीको सचिवालयको आरोप छ ।

जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रचण्डसँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको विज्ञप्तिमा भनिएको छ । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सरको उपचार गराउन भारत जाँदा दिल्लीमा सरदार सिंहकै घरमा बसेको सोही क्रममा सरदार सिंह र प्रधानमन्त्री प्रचण्डको पारिवारिक सम्बन्ध पनि पनि बनेको विज्ञप्तिमा भनिएको छ ।

‘पुस्तक बिमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रुपमा संसद अवरोध गर्दा मिटरब्याजीहरूलाई कार्वाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निस्क्रिय भएको छ, जसबाट मिटरब्याज पीडित लाखौँ नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको छ, यसप्रति हामी गहिरो दुःख व्यक्त गर्दै पीडित किसानहरूको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गर्दछौं,’– विज्ञप्तिमा भनिएको छ ।

संकुचित राजनीतिक मानसिकताका साथ प्रचण्डको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको विरोध र सिंगो संसदको नै अपमान हुने विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्