Logo

एकीकृत समाजवादीमा व्यापक असन्तुष्टि, एमाले फुटाएकोमा झाँक्रीलाई पछुतो



काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले पार्टीभित्र व्यापक असन्तुष्टि बढेको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीभित्र सैद्धान्तिक र व्यवहारिक पक्षमा धेरै असन्तुष्टि रहेको बताएकी हु्न् । पार्टीभित्र चुलिएको असन्तुष्टिलाई सम्बोधन गर्न कुनै मिटिङ, सम्मेलन वा महाधिवेशनको विकल्प नरोजिएको उनको भनाई छ । तत्कालीन एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउनुमा आफूहरुको कमजोरी भएको उनले स्वीकार गरिन् । आफूहरुले जे उद्देश्यले पार्टी फुटाएको हो त्यो पुरा नभएको उनको स्वीकारोक्ति छ । नेतृ झाँक्रीले यसको समीक्षा इतिहासमा हुने बताईन् ।

‘जतिबेला हामी फुटाउनेमा लाग्यौं, फुटाउनेमा प्रेरित गर्नेहरु भयौं, यसमा हामी सबैको थोर बहुमत कमजोरी, गल्तीहरु भए होलान् । त्यसको समीक्षा गर्नपर्छ, भोलि इतिहासमा होला । किनभने हामीले जे उद्देश्यले पार्टी फुटाएको थियौं, जे परिस्थिति सिर्जना भयो, त्यसको समीक्षा बाहिर नभने पनि भएकै छ । त्यसले एउटा परिस्थिति निर्माण गरेन भन्ने पनि भएकै छ । त्यसले गर्दाखेरी सायद हाम्रा पनि कमीहरु थिए होला, लिडरसिपको पनि कमीहरु थिए होला,’– उनले भनिन् ।

‘अब एमालेमा फर्कने तयारीमा हो ? केपी शर्मा ओलीको भनाइृ छ’ भन्ने धमलाको प्रश्नमा झाँक्रीले आफूलाई यस विषयमा कुनै जवाफ दिन आवश्यक नरहेको बताईन् । नेकपा (एस) को महाधिवेशनसम्म ‘पर्ख र हेर’ को अवस्थामा बस्नेतर्फ लक्षित गर्दै उनले भनिन्, ‘हेरौं अधिवेशन, महाधिवेशनसम्म जाऔं, कमिटीहरु, जनसंगठनहरु पुन गठन गरौं । विचार र राजनीतिका क्षेत्रमा अलिकति काम गरौ, हुन्छ कि ? महाधिवेशन गरौं ।’ File Photo/RN 



प्रतिक्रिया दिनुहोस्