Logo

बहुमत पुर्याउन ओलीलाई माओवादी सचिव पौडेलको चुनौति



काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले एमालेले मिटरब्याज पीडितको पक्षमा विधेयक ल्याउन नदिन प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको आरोप लगाएका छन् । हिजो (शुक्रबार) प्राइम्स टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीको राजीनामा मिटरब्याज पीडितको पक्षमा विधेयक ल्याउन नदिन गरिएको षड्यन्त्र भएको बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पु्स्तक विमोचनमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरुद्ध गर्दा मिटरब्याजी समस्यालाई नियमन गर्न सरकारले ल्याएको विधेयक निष्कृय भएको थियो । कु्नैपनि विधेयक सदन प्रारम्भ भएको ६० दिनभित्र दुवै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

‘६० दिनभित्रमा प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने छ मिटरब्याजीको । मिटरब्याजीको पक्षमा, पीडितको पक्षमा होइन, मिटरब्याज पीडितको पक्षमा विधेयक ल्याउन नदिनको निम्ति गरिएको षड्यन्त्र हो । किनभने त्यही दिन ६० दिन पुग्थ्यो । त्यो रोक्नका निम्ति उहाँहरुले यो गर्नु भएको हो,’– पौडेलले भने ।

उनले प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट बहुमत नगुमाउँदासम्म एमालेको राजीनामाले कुनै अर्थ नराख्ने बताए । संवैधानिक प्रक्रिया अनुसार बहुमत सिद्ध गर्न उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौतिसमेत दिए । ‘यो प्रक्रियामा, प्रणालीमा प्रधानमन्त्री बनाउने भनेको संघीय संसद्भित्रको पनि प्रतिनिधि सभाले बहुमत सिद्ध गरेर, बहुमत सदस्यहरु सो गरेर वैधानिक रुपमा प्रधानमन्त्री नियुक्त गर्ने हो ।’ उनले भने, ‘जबसम्म प्रधानमन्त्रीको पक्षमा बहुमत हुन्छ, तबसम्म जस प्रकारका राजीनामाको मागहरुको कुनै तुक, कुनै अर्थ, कुनै महत्व रहँदैन ।’

एमाले अध्यक्ष्क ओलीको हस्ताक्षरबाट प्रचण्ड प्रधानमन्त्री भएको स्मरण गर्दै उनले बरु एमालेले चाहिँ कसैको दवाबमा प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको हो कि भन्ने आशंका उत्पन्न भएको उनले बताए । एमालेलाई यदि भारतीय कुनै संस्था, व्यक्तिले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर भनेको भएर एमाले त्यही मानेको खण्डमा त्यो गल्ती हुने उनको भनाई छ ।

‘एमाले फस्यो, प्रधानमन्त्री बनाउनका निम्ति केपी ओलीले गरेको हस्ताक्षर पल्टाएर हेर्नुस् । केपी ओलीलगायतका हिजो प्रतिनिधि सभामा प्रधानमन्त्रीको राजीनामा माग गर्नेहरुलाई म चुनौति दिन चाहन्छु, उहाँले हस्ताक्षर गर्नु भएको होइन र प्रधानमन्त्री ? उसो भए उहाँले जवाफ दिन पर्यो, उहाँलाई भारतको कुन व्यक्तिलाई प्रधानमन्त्री बनाउ भनेर हस्ताक्षर गर्न लगायो ? भन्न सक्नुहुन्छ उहाँले ? भारतको कुन व्यक्ति, कुन निकाय, कुन संस्थाले हस्ताक्षर गरेर राष्ट्रपति कहाँ बहुमत बुझाउनुस्, प्रधानमन्त्री बनाउनुस् भनेर कसैले भनेको छ ? भनेको छ भने उहाँहरुले गल्ती गर्नुभयो नि,’– उनले भने ।

केपी ओली, राजेन्द्र लिङ्देन, रवि लामिछाने लगायतले हस्ताक्षर गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले एमालेले निहुँ खोजेर विषय वस्तुलाई तोडमोड गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्