Logo

सरकारले नागरिकता विधेयक प्रमाणीकरण गरेर अत्यन्तै ठीक गर्योः मन्त्री शर्मा



काठमाडौं, २२ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कोही पनि नेपाली नागरिक नागरिकता पाउने हकबाट बञ्चित हुन नहुने बताएकी छन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आज (शुक्रबार) आयोजना गरेको अन्तक्र्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले कोही पनि नेपाली नागरिक नागरिकताबाट बञ्चित हुन नहुने भनेर नै नागरिकता विधेय ल्याएको बताएकी हुन् ।

‘नेपाली नागरिक, जसलाई संविधानले नागरिकता पाउने व्यवस्था गरिसक्यो । जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गरिसक्यो । तर, तिनीहरुले पाइराखेका छैनन् । आमाका सन्तान, जसको बाबुको थर, ठेगाना भएन भनेर नागरिकता नपाइरहेको अवस्था छ, ति आमाका सन्तानले नागरिकता पाउनु पर्छ भन्ने उद्देश्यसहित सरकारले नागरिकता विधेयक लिएर आएको हो,’– उनले भनिन् ।

कतिपय व्यक्तिहरु नागरिकता नपाएर सुसाइड गर्ने अवस्थामा पुगेको बताउँदै मन्त्री शर्माले नागरिकता विधेय ल्याउनु गलत भयो भन्ने निष्कर्षमा पुग्न नहुने बताईन् । नेपाली नागरिकले नागरिकता पाउनु पर्ने र यदि कसैले गलत गरेको पाईएमा कारबाही गरिने उनले बताईन् ।

‘गलत गर्नेहरुका लागि नागरितका दिने अधिकारीहरु हुन, चाहे प्राप्त गर्ने व्यक्तिहरु हुन् दुवै कारबाहीको दायरामा आउँछन् । कारबाहीको दायरामा आउने एकाध व्यक्तिले गलत गरेको कुरालाई आधार मानेर नागरिकता विधेयक ल्याउनु गलत भयो भन्ने निष्कर्षमा पुग्न हुँदैन । यो अत्यन्तै ठीक भएको छ । कतिपय व्यक्तिहरु नागरिकता नपाएर सुसाइड गर्ने अवस्थामा पुगेका थिए । जो नेपाली नागरिक हुन् तिनले नागरिकता पाउनु पर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्