Logo

कस्तो अवस्थामा तय हुन्छ सम्बन्धविच्छेदको आधार ?



काठमाडौं, २३ असार । वैवाहिक जीवनमा उत्पन्न असमझदारी, मनमुटाव र झगडाका कारण एकसाथ बस्न नसक्ने अवस्थामा पुगी दाम्पत्य जीवन अन्त्य नै सम्बन्धविच्छेद हो । अर्को शब्दमा भन्दा दम्पतीले आफूलाई दाम्पत्य जीवनबाट अलग्याउनु नै सम्बन्धविच्छेद हो । कानुनी रुपमा सम्बन्ध विच्छेद दर्ता नगराएसम्म यसबाट उत्पन्न हुने अधिकार र दायित्वको उपयोग गर्न सकिँदैन ।

हिन्दु धार्मिक सम्प्रदायमा विवाहको परिकल्पना गरिए पनि सम्बन्धविच्छेदको परिकल्पना गरिएको छैन । पछिल्लो समय नेपालमा पनि सम्बन्धविच्छेदका घटनाहरु बढ्दै गएका छन् ।
मानिसमा आएको चेतना, स्वतन्त्रता प्राप्तिको चाहना, विदेशी संस्कृतिको प्रभाव र आपसी मनमुटाव, वैदेशिक रोजगारका कारण लामो समय परिवार छोडेर बस्नुपर्ने अवस्था आदिका कारण सम्बन्धविच्छेदका घटना दिनप्रतिदिन बढ्दो अवस्थामा छ ।

विवाह पवित्र बन्धन हो । यसलाई तोड्नका लागि निश्चित आधार, कारण र सबुत चाहिन्छ । नेपालको सन्दर्भमा पछिल्लो मौजुदा कानुन मुलुकी देवानी संहिता ऐन २०७४ ले यस सम्बन्धमा ब्यबस्था गरेको छ । कानुन मुलुकी देवानी संहिता ऐन दफा ९३ देखि दफा १०४ सम्म सम्बन्ध विच्छेदको बारेमा विभिन्न व्यवस्था गरेको छ ।

दुवैको मञ्जुरीले सम्बन्धविच्छेद गर्न सक्ने

  • पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्धविच्छेद गर्न सक्नेछन् ।

पतिले सम्बन्धविच्छेद गर्न सक्ने

पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछ :

  • कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा ।
  • पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा ।
  • पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट
  • हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा ।
  • पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।

पत्नीले सम्बन्धविच्छेद गर्न सक्ने

  • पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सक्नेछिन्ः–
  • कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा ।
  • पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा ।
  • पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा ।
  • पतिले अर्को विवाह गरेमा ।
  • पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा ।
  • पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।

 



प्रतिक्रिया दिनुहोस्