Logo

माओवादी आन्दोलनलाई एकीकृत गर्न महासचिव होइन, सदस्यमात्रै भएर पनि काम गर्न तयार छुः विप्लव



काठमाडौं, २४ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफू माओवादीको सदस्य भएर काम गर्न पनि तयार रहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी आन्दोलनलाई एकीकृत गर्न तयार भएपछि देशलाई निकास दिने र क्रान्तिलाई पूर्णता दिने गरी अगाडि बढ्दा जुनसुकै भूमिकामा बसेर काम गर्न तयार रहेको बताएका हुन् ।

‘माओवादीलाई बलियो बनाउनु पर्छ । पदको कुरा छोड्दिनुस् । यो पदको कुरा गर्नु भनेको अहिले साथीहरुलाई अनावश्यक झण्झटमा फसाउनु हो । अध्यक्षको कुरा आउँछ, उपाध्यक्षको कुरा आउँछ, महासचिवको कुरा आउँछ, सदस्यकको कुरा आउँछ ।’ उनले थपे, ‘जब हामी एक बन्छौ नि यी यावत कुरा माओवादी आन्दोलनलाई एकीकृत गर्न तयार भएपछि हाम्रो लक्ष्य स्पष्ट पारेर यो देशलाई निकास दिने र क्रान्तिलाई पूर्णता दिने गरी अगाडि बढ्दाखेरी हामी जुनसुकै भूमिकामा पनि बसिहाल्छौं नि । किन तपाई महासचिवको चिन्ता गर्नुहुन्छ अहिले ?’

अहिले महासचिव, अध्यक्षजस्ता पदको पछाडि नलागेर माओवादी आन्दोलनलाई एकीकृत गर्न आफू लागि रहेको उनको दाबी छ । उनले कम्युनिष्ट पार्टीको नेताको हिसाबले एकदिन जिम्मा आएको खण्डमा जुनसुकै जिम्मेवारी पनि लिन तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्