Logo

सभामुख घिमिरे र शीर्ष पाँच दलका सचेतकबीच छलफल हुँदै



काठमाडौं,२४ असार । शीर्ष तीन दलका नेताहरुबीच सदन अवरुद्ध नगर्ने सहमति भएसँगै प्रतिनिधिसभाको बैठक दिउँसो तीन बजे बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको सत्तारुढ दलको बिहान बसेको बैठकले वार्ताका माध्ययमबाट नेकपा एमालेलाई मनाउने निर्णय गरेको थियो ।

उक्त निर्णय लगत्तै बसेको तीन दल शीर्ष नेता सम्मिलित बैठकले आत्मालोचनासहित प्रधानमन्त्री प्रचण्डले सदनमा सम्बोधन गर्ने र एमालेले अवरुद्ध नगर्ने सहमति भएको थियो ।

एमालेले सदन अवरुद्ध नगर्ने सहमति गरेपछि सभामुख देवराज घिमिरेले बैठक सुचारु गर्ने विषयमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्न लागेका छन् । केही बेरमा नयाँ वानेश्वरस्थित कार्यव्यवस्था तथा परामर्श समितिको कार्यकक्षमा बस्ने बैठकमा नेकपा एमाले,नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्ने बताइएको छ ।

दलका सचेतकसँग छलफल गरेर दिउँसो तीन बजे बैठक सूचारु गर्ने तयारी सभामुख घिमिरेको रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्