Logo

एमालेको नयाँ सर्तपछि झस्किए प्रधानमन्त्री दाहाल,संसद् बैठक भोलिमात्र बस्ने



काठमाडौं,२४ असार । प्रतिनिधिसभाको बैठक सूचना टास गरेर स्थगित् भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टास गरेर भोलि दिउँसो ३ बजेसम्म स्थगित् भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेर एमालेले लगाताररुपमा संसद अवरुद्ध गरेपछि पटक-पटक स्थगित् हुँदै आएको बैठक आजपनि सूचना टास गरेर स्थगित भएको हो ।

लगाताररुपमा बैठक अवरुद्ध भएपछि आज बिहान बसेको सत्तारुढ गठबन्धन दलको बैठकले एमालेलाई मनाउने निर्णय गरेको थियो । गठबन्धन दलको निर्णय लगत्तै बसेको शीर्ष तीन दलका नेताहरुको छलफलमा सदनको अवरोध हटाउने सहमति भएको थियो । बिहान बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित भएका थिए ।

उक्त छलफलमा संसद बैठक दुई घण्टा पर सार्ने र दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त अभिव्यक्तिका सम्बन्धमा प्रष्टीकरण दिने सहमति बनेको थियो ।

तर बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले असार २१ मा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आर्चायले जारी गरेको वक्तव्य फिर्ता लिनुपर्ने, माओवादी केन्द्रका नेताहरुले विभिन्न ठाउँमा दिएका एमालेलक्षित आरोप फिर्ता लिनुपर्ने अडान राखेपछि थप छलफल गर्न भन्दै संसद बैठक स्थगित् गरिएको बताइएको छ ।

एमालेले लगातार बैठक अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आर्चायले गत असार २१ गते एक विज्ञप्ति जारी गरेका थिए । जसमा एमालेलाई विभिन्न प्रकारका आरोप लगाइएको छ । सदन सूचारु हुनुअघि एमालेले उक्त सबै आरोपहरु फिर्ता लिनुपर्ने नयाँ अडान राखेपछि आज बैठक बस्न नसकेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्