Logo

मन्त्री नबनाएको भन्दै माओवादी प्रदेश सांसदले दिए राजीनामा दिने धम्की



काठमाडौं,२४ असार । प्रदेश सभा सदस्य निर्वाचनमा उदयपुर-२ को (क) बाट निर्वाचित भएका माओवादी केन्द्रका कोशी प्रदेशसभा सदस्य नारायण बहादुर बुर्जा मगरले सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री उद्धव थापा नेतृत्वको प्रदेश सरकारमा मन्त्री बन्ने आकांक्षा राखेका मगरले मन्त्री बन्न नपाएपछि उक्त चेतावनी दिएको बताइएको छ ।

माओवादी केन्द्रबाट कोशी प्रेदश सरकारमा मन्त्री बन्ने निश्चित भएका मगरको स्थानमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाँई जीवन आर्चाय शक्तिशाली मन्त्रालयसहित मन्त्री बनेपछि मगर असन्तुष्ट रहँदै आएका छन् ।

मन्त्री छनोटका विषयमा असन्तुष्ट रहेका मगरले आइतबार सामाजिक सञ्जालमा आफ्नो धारण सार्वजनिक गर्दै आवश्यक परे पदबाट राजीनमा दिनसक्ने बताएका छन् । उनले लेखेका छन् ,‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई-दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनसाय बनाइसकेको छु ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको नयाँ सरकारमा माओवादी केन्द्रबाट जीवन आर्चायसँगै राजेन्द्र कार्की मन्त्री नियुक्त भएका छन् । आर्चायले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कार्की विना विभागिय मन्त्रीको रुपमा नियुक्त भएका छन् । प्रदेश सभामा सभामुखसहित माओवादी केन्द्रका १३ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्