काठमाडौं, २६ असार । सरकारले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानविनका लागि समिति गठन गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो ।
‘मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ । मन्त्रिपरिषद्को बैठकले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको छ,’– सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन् ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९ एनए एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा सवार सबै ६ जनाकै निधन भएको थियो । हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यात्रु सबै मेक्सिकन नागरिक हुन् भने क्याप्टेन चेतबहादुर गुरुङ थिए ।