काठमाडौं,२८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवास परिसरभित्र चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् ।
बिहीबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले वर–पिपल रोपेर चौतारो र पोखरी निर्माणको शिलन्यास गरेका हुन् ।
राष्ट्रपति पौडेलले निर्वाचित भएलगत्तै ‘वर–पिपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्देशन दिएको’ सचिवालयले जनाएको छ । सोहीअनुरूप कार्यालयका तर्फबाट भएको तयारीअनुसार बिहीबार पूजा अर्चनासहित वर–पिपल रोपेको पनि सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति भवनको पश्चिमपट्टिको भागमा चौतारो निर्माणका लागि वर–पिपल रोपिएको हो । सोही स्थानभन्दा तल्लो खोल्सामा पोखरी निर्माण गर्ने योजना रहेको बताइएको छ ।