Logo

ओलीजीले प्रधानमन्त्री नै अफर गरेपनि प्रचण्ड नेतृत्वको सरकार छोड्दैनौंः प्रदीप यादव



काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले मुलुकको सुशासन र स्थिरताको निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नै उत्तम रहेको बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको सरकार ढालेर अर्को गठबन्धन र सरकार बनाउने सम्भावना नरहेको बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकारसँगै सहकार्य गरेर सरकारको लक्ष्यप्राप्ति र जनतालाई सुशासन दिने कार्यमा जसपा लागि रहने बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्रीकै अफर आएपनि अहिलेको सरकार जोगाउनका निम्ति आफूहरु लागिरहने उनको भनाई छ । ‘उपेन्द्रजीलाई प्रधानमन्त्री अहिले चाहिएन । मुलुकमा स्थिरता र सुशासन ल्याउनु छ । अर्थतन्त्रमा देखिएको तरलता ठीक गर्नु छ । यसको लागि प्रचण्ड नेतृत्वको सरकार नै उत्तम छ । यही सरकारलाई बलियो बनाउने, यही सरकारको लक्ष्य प्राप्तिमा लाग्ने र जनतालाई सुशासन दिलाउने,’– उनले भने ।

गठबन्धन दलको नेतृत्वमा रहेको सरकारले इमानदार पूर्वक देश र जनताको पक्षमा काम गरिरहेको उनको दाबी छ । अहिलेको गठबन्धन र सरकारलाई कुनै शक्तिले पनि ढाल्न नसक्ने उनले बताए । उनले गठबन्धन पाँच वर्षको लागि बनेको बताउँदै पाँचै वर्ष टिक्नेसमेत दाबी गरे । गठबन्धन दलबीच देखिएका दरार र समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान खोजिने उनको भनाई छ ।

‘प्रचण्ड नेतृत्वको सरकार ढाल्ने योजना पटक्कै छैन । प्वईन्ट पनि छैन । जसपा र यो गठबन्धन इमानदार रुपले आफ्नो काम गरिरहेको छ । इमानदार रुपले यो गठबन्धन एक ठाउँमा छ । यो सरकार कुनै शक्तिले पनि ढाल्न सक्दैन । यो गठबन्धन पाँच वर्षका लागि बनेको छ । पाँच वर्षसम्म चल्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्