काठमाडौं, ३१ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले वकिलहरुले मनपरी शुल्क लिइरहेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद साहले अहिले देशमा गरिबहरुले आफ्नो मुद्दामा वहस पैरबीका लागि वरिष्ठ वकिल राख्न सक्ने अवस्था नै नरहेको भन्दै संसद्को ध्यानाकर्ष गराएका छन् ।
बस भाडासमेत नियमन राख्ने सरकारले वकिलहरुको न्यूनतम् र अधिकतम् शुल्कमा नियमन राख्नुपर्ने उनको भनाई छ ।
‘नेपालमै हामी हेर्छौं बस भाडा पनि सरकारले नियमन गरिराखेको हुन्छ । फ्याक्ट्रिका उत्पादन पनि सरकारले नियमन गरिराखेको हुन्छ । वकिलहरुले वहसमा कति पैसा लिने ? लेखनमा कति पैसा लिने ? परामर्शमा कति पैसा लिने ? न्यूनतम् र अधिकतम् तोकिनुपर्ने हो कि होईन ?’– उनले प्रश्न गरे ।
अरुलाई कानुन सिकाउने, न्यायको बहस, पैरबी गर्ने, अरुमाथि प्श्न उठाउने वकिलहरुलाई पनि कानुन लाग्नुपर्ने उनको माग छ । वकिलहरुले कर नतिरेको, क्लाईन्टबाट लिएको शुल्कको विल नदिएको, रसिद नदिएको उनको आरोप छ । वरिष्ठ वकिलहरुले बहस गर्दा पाँच लाख÷दश लाख लिने गरेको बताउँदै उनले गरिबले आफ्नो मुद्दामा वरिष्ठ वकिल राख्नै नसक्ने स्थिति पैदा भएको बताए ।
साथै, अहिले वकिलहरुले आजकाल मुद्दाको ठेक्का लिने गरेको उनले खुलासा गरेका छन् । मुद्दाको ठेक्का लिन्छ भने त्यो मुद्दा हार्दा पीडितले क्षतिपूर्ति पाउनु पर्ने उनको माग छ । File Photo/RN