Logo

सार्वजनिक जग्गा अतिक्रमण नगर्न वडा सदस्यलाई सांसद श्रेष्ठको चेतावनी



काठमाडौं, ६ साउन । धोबीखोला करिडोरस्थित सार्वजनिक जग्गा अतिक्रमण गरेर बाटो नलान सांसद दिपेन्द्र श्रेष्ठले वडा सदस्य अनिलकुमार श्रेष्ठलाई चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य श्रेष्ठले सार्वजनिक बाटो मिचेर बाटो लगेको विषयमा चौतर्फी आलोचना भएपछि बागमती प्रदेशका प्रदेशसभा सदस्य श्रेष्ठले उक्त चेतावनी दिएका हुन् ।

स्थानीयले लगातार उजुरी गरेपछि फिल्डमा पुगेका सांसद श्रेष्ठले सरकारी जग्गा संरक्षण गर्नुपर्ने जनप्रतिनिधिले नै हडप्न नहुने सुझाव दिए । सांसद श्रेष्ठले वीर गणेशमान सिंह स्मृति ज्येष्ठ नागरिक भवनका पदाधिकारीसहितको छलफलमा सार्वजनिक जग्गालाई दुरुपयोग नगर्न भनेका हुन् ।

‘पछाडिपट्टिबाट घर जाने बाटो कायम भई रहेको अवस्थामा अगाडि पट्टिको सार्वजनिक जग्गालाई दुरुपयोग नगर्न सुझाव दिँदै ज्येष्ठ नागरिकहरूको लागि आराम गरिनको लागि खुल्ला राखिनु पर्ने मैले सुझाव दिएको ब्यहोरा जानकारी गराउदछु । सरोकारित व्यक्तिहरूले मेरो सुझावलाई आत्मसात गर्नु हुनेछ भन्ने लागेको छ,’– सांसद श्रेष्ठले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

काठमाडौं महानगरपालिका २९ वडा अवस्थित निर्माणाधीन अवस्थामा रहेको वीर गणेशमान सिंह स्मृति ज्येष्ठ नागरिक भवन परिसरको सार्वजनिक जग्गालाई मिचेर बाटो कायम गरिएको विषयमा सरोकारित व्यक्तिहरू, वडा सदस्य, ज्येष्ठ नागरिक भवनको अध्यक्ष, सामाजिक व्यक्तिहरुसँगको वृहत्त छलफल उनले त्यस्तो सुझाव दिएका हुन् ।

एक त सार्वजनिक जग्गाबाट बाटो लान मिल्दैन । अर्कोतर्फ सार्वजनिक पदमा बसेको व्यक्तिले सरकारी र सार्वजनिक जग्गा हडपेर बाटो लानु अख्तियारको दुरुपयोग र भ्रष्टाचार हो । वडा सदस्य श्रेष्ठले सार्वजनिक जग्गा मिचेर बाटो लगेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्