Logo

सभामुख घिमिरे भन्छन्: कोशी सरकार निर्माणमा सभामुखको सहभागिताबारे अदालतको फैसला स्वीकार्य हुन्छ



काठमाडौं,७ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकारमा मुख्यमन्त्री नियुक्त गर्दा सभामुखको हस्ताक्षर प्रयोग गरिएकोबारेमा सर्वोच्च अदालतको फैसला स्वीकार्य हुने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित ‘संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सार्वजनिक तथा पत्रकार भेटघाट’ कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सभामुख घिमिरेले कोशी प्रदेशको सरकार निर्माणबारे आफूहरु सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको र उसले गर्ने फैसला स्वीकार गर्दै अघि बढ्ने समेत स्पष्ट पारे ।

उनले भने “देशैभरिका अब संसद् निर्माण गर्ने ठाउँका प्रमुखहरुको भेलाले त्यसमा बाहिर बोल्ने कुरा, निर्णय गर्ने कुरा चाहिँ यो अदालतको विषयलाई हस्तक्षेप गर्ने वा प्रभाव पार्ने हुन सक्ने भएकाले हामीले यसलाई गरेनौँ,” उनले भने, “र, हामी अदालतको निर्णयलाई पर्खेर बसेका छौँ । र, अदालतको निर्णय जे आउँछ, त्यसलाई कार्यान्वयन गर्नुपर्ने त हामी सबैको कर्तव्य हुन्छ नै ।”

कोशीमा नयाँ मुख्यमन्त्री नियुक्त गर्नेबेला माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग भएको थियो । त्यको विरोधमा नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको छ । एमालेले नयाँ मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असम्वैधानिक रहेको भन्दै बदरको माग गरेको छ ।

एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट अहिलेपनि सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्