काठमाडौं,८ साउन । श्रीलंकामा सम्पन्न एसीसी इर्मजिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ए ले जितेको छ ।
हिजो भएको फाइनल खेलमा साविक विजेता भारत ए लाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
जितका लागि पाकिस्तानले दिएको ३५३ रनको विशाल लक्ष्य पछयाएको भारत ए ४० ओभरमै २४० रनमा अलआउट भएपछि पाकिस्तानले आफ्नो जित पक्का गर्यो ।
भारतका लागि ओपनिङ ब्याट्सम्यानद्धय अभिषेक शर्माले ६१ तथा साइ सुदर्शन २९ रनमा आउट भए। कप्तान यश धुल ३९ रनमा पभिलियन फर्के।
भारतलाई सस्तैमा रोक्नेक्रममा बलिङतर्फ पाकिस्तानका सुफियान मुकिमले ३ विकेट लिए। अर्सद इकबाल, मेहरम मुम्ताज र मोहमद वासिमले २ २ विकेट लिए।
यसअघि आइतबार आर प्रेमादासा रंगशालामा टस हारेपछि ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३५२ रनको योगफल खडा गर्यो ।
पाकिस्तानका लागि तैय्यब ताहिरले १०८ रन बनाए । प्रारम्भिक ब्याट्सम्यानद्वय साइम अयुबले ५९ र साहिजादा फरहानले ६५ रन बनाए ।
भारतका लागि रियान पराग र राभर्दन हङगरगेकरले २ २ विकेट लिएका थिए ।
नेपालसहित ८ टिम सहभागी भएको प्रतियोगितामा नेपालले समूह चरणमा तीनमध्ये एक खेलमात्र जित्न सक्यो । पाकिस्तान ए र भारत एसँग फराकिलो हार व्यहोरेको नेपालले अन्तिम खेलमा भने यूएईविरुद्ध सान्तवना जित हाँसिल गरेको थियो ।