काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले नेपाली कम्युनिष्ट आन्दोलनभित्र विदेशीहरुको प्रभाव, चलखेल र हस्तक्षेप पसेको टिप्पणी गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा विदेशीले खेलिरहेको आरोप लगाएका हुन् ।
विदेशी शक्तिहरुले नेपालका कम्युनिष्टहरु एकजुट नहुन, शोषक, उत्पीडितहरुको स्वर्गीय राज्य कायमै रहोस् भन्ने चाहेको उनको दाबी छ । बाह्य शक्तिहरुको खेलबाड र देशभित्रका शक्तिहरुको बाह्य शक्तिहरुको सहयोग लिएर कथित क्रान्ति गर्ने गलत मनसायले गर्दा अहिले देशको कम्युनिष्ट आन्दोलनले ठूलो चोट खाएको उनको बुझाई छ । उनी अहिले नेपालको कम्युनिष् आन्दोलन दिशाहीन रहेको बताउँछन् । नेकपा (एमाले) जनघाती हुँदै राष्ट्रघाती बनेको उनको आरोप छ । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि सारेर पुँजीवादी सिद्धान्त अंगिकार गरेको उनले बताए ।
‘राजनीतिलाई बुझ्ने कुरामा एमालेले जबजलाई अगाडि सार्यो । त्यसमा जनघाती काम गर्यो । प्रचण्डजीहरुले राष्ट्रको स्वतन्त्रता र सार्वभौमताको कुरामा अराष्ट्रिय कुरालाई अगाडि सारे । एमाले जनघाती हुँदै राष्ट्रघाती ठाउँमा पुग्यो । प्रचण्डजीहरु राष्ट्रघाती हुँदै जनघाती हुने ठाउँमा आइपुगेका छन् ,’– उनले भने ।
उनले नेपालका कम्युनिष्टहरु बाह्य मूलुकका कम्युनिष्ट अथवा अरु शक्तिको प्रेसरले मिल्ने वा फुट्ने नगरेको बताए । नेपालका कम्युनिष्टहरु मिल्ने वा फुट्ने कुरामा कतिपय बाह्य शक्तिले उत्साहित, अनुत्साहित गरेपनि उनीहरु आफ्नो कारणले मिल्ने र फुट्ने गरेको उनको दाबी छ । नेपालका कोही कम्युनिष्टहरु पनि माक्र्सवादी नरहेको उनको टिप्पणी छ । उनीहरुले नेपाली जनताको बलबाट सत्तामा पुग्ने बाटो छाडेर विदेशी शक्तिहरुको साहरा लिएको उनको दाबी छ ।
‘नेपालका कम्युनिष्टहरु माक्र्सवादी रहेनन् । एमाले खलकहरु माक्र्सवादबाट चिप्लिए । उनीहरु नेपाली जनताको बलबाट सत्तामा पुग्ने होईन् विदेशीहरुको बलबाट सत्ता, जो केही दिनअघि प्रचण्डजीले बकिहाल्नुभयो । पछि माफ पनि माग्नुभयो । नेपालका कम्युनिष्ट नेताहरु विदेशमुखी बनेका छन् । उनीहरु नेपालमुखी र जनतामुखी छैनन् । एमाले पुँजीवादी सिद्धान्तमा लाग्यो । प्रचण्डजी राष्ट्रघाती सिद्धान्तमा लागे,’– उनले भने । File Photo/RN