काठमाडौं,८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु भएको छ ।
सर्वोच्चका न्यायाधीशद्धय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो ।
मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्त गर्दा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेका सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्चमा पुगेका थिए ।
सरकार गठनमा सभामुखलाई सहभागी गराउन नहुने भन्दै उद्धव थापाको नियुक्ति खारेज गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गर्दै कार्की गत असार २२ गते सर्वोच्च गएका थिए ।
कार्कीले दायर गरेको उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै असार २७ गते न्ययाधीश सपना मल्ल प्रधानको एकल इजलासले साउन ३ भित्रमा विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिँदै दिर्घकालिन प्रभाव पार्ने कुनैपनि निर्णय नर्गन अन्तिरिम आदेश जारी भएको थियो । उक्त आदेशमा साउन ३ भित्रमा लिखित जवाफ पेस भएपछि साउन ७ बाट निरन्तर सुनुवाई गर्ने आदेश भएको थियो ।
असार २७ को आदेश अनुसार सभामुख बाबुराम गौतम, प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री उद्धव थापाले लिखित जवाफ पेस गरिसकेका छन् ।