Logo

चिनियाँ कम्युनिस्ट नेता च्याचिन नेतृत्वको टोलीसँग सभामुख घिमिरेको भेटवार्ता



काठमाडौं,८ साउन । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिन र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिएर उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरे।

सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गरे।

आइतबार नेपाल आइपुगेको चीनको कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युयान च्या च्युन नेतृत्वको टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काका साथै माओवादी केन्द्रका नेताहरुसँग भेट गरेको थियो भने हिजै इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल सम्वाद गरेको थियो ।

चिनियाँ टोलीले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्नेछ भने मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेटगर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्