काठमाडौं,८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ ।
सर्वोच्चका न्यायाधीशद्धय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।
मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्त गर्दा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेका सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्चमा पुगेका थिए ।
सरकार गठनमा सभामुखलाई सहभागी गराउन नहुने भन्दै उद्धव थापाको नियुक्ति खारेज गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गर्दै कार्की गत असार २२ गते सर्वोच्च गएका थिए ।
कार्कीले दायर गरेको उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै असार २७ गते न्ययाधीश सपना मल्ल प्रधानको एकल इजलासले साउन ३ भित्रमा विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिँदै दिर्घकालिन प्रभाव पार्ने कुनैपनि निर्णय नर्गन अन्तिरिम आदेश जारी भएको थियो । उक्त आदेशमा साउन ३ भित्रमा लिखित जवाफ पेस भएपछि साउन ७ बाट निरन्तर सुनुवाई गर्ने आदेश भएको थियो ।
असार २७ को आदेश अनुसार सभामुख बाबुराम गौतम, प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री उद्धव थापाले लिखित जवाफ पेस गरिसकेका छन् ।
आज भइरहेको सुनुवाइमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले संवैधानिक ब्याख्या आवश्यक रहेको भन्दै सम्वैधानिक इजलासमा पठाउनेबारेमा राय माग गरेका थिए । न्यायाधीश श्रेष्ठको रायलाई महान्यायाधीवक्ता दिनमणी पोखरेलले पनि सहमति जनाएका छन् तर रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले भने मुख्यमन्त्रीले विश्वासको मत लिने समयलाई असर गर्ने भएकाले आजकै इजलासमा फैसला गर्नुपर्ने धारणा राखेका थिए ।
अहिले ब्रेक समय भएकाले छलफल रोकिएको छ । खाजा समय सकिएपछि थप छलफल हुने बताइएको छ । उक्त रिटमा बहस गर्ने एक कानून व्यवसायीका अनुसार उक्त रिटमा आजै फैसला आउन सक्ने सम्भावना प्रवल रहेको छ ।