Logo

निर्वाचनमा हुने खर्च पनि भ्रष्टाचार हो, यो प्रणाली बदलौंः उपेन्द्र यादव



काठमाडौं, ८ साउन । जनता सामाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा हुने खर्च पनि भ्रष्टाचार भएको बताएका छन् । आज (सोमबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसको अवसरमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्ड हीनता’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले महगो निर्वाचन प्रणालीमा परिवर्तनको आवश्यकता रहेको बताएका हुन् ।

‘चुनाव लड्दा खेरी हुने खर्च पनि भ्रष्टाचार हो । निर्वाचन प्रणालीलाई बदलौं । अहिलेको निर्वाचन प्रणाली अत्यन्त महँगो र खर्चिलो भयो । भ्रष्टाचार संस्थागत हुँदै गएको छ । माथिदेखि तलसम्म, तलदेखि माथिसम्म,’– उनले भने ।

भ्रष्टाचार र असमानताको अन्त्य गर्न राज्यले नसक्नु समाजवादको अवरोध भएको उनले बताए । देशमा कृषि प्रणालीको आधुनिकीकरण नगरी गरिबी हटाउन र समृद्धि हासिल गर्न नसकिने उनको भनाई छ । आर्थिक विपन्नता, गरिबी, बेरोजगारी र आर्थिक प्रणालीमा सुधार ल्याउनका लागि कृषि प्रणालीमा सुधारको आवश्यक रहेको उनले बताए ।

आजसम्म आफूले कांग्रेस र कम्युनिष्टले सरकार सञ्चालन गर्दा लिएको नीतिमा केही फरक नदेखेको उनको भनाई छ । उनले कांग्रेस र कम्युनिष्टहरु अहिलेसम्म एउटै गाडीमा सवार भएको टिप्पणी गरे ।

साथै, राज्यको विभेदकारी नीतिको कारण समाजवादको यात्रामा अवरोध रहेको उनले बताए । अहिले राज्यमा जातीय, भाषिक, सांस्कृतिक विभेद कायमै रहेको उनले बताए । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्