काठमाडौं,८ साउन । गत शुक्रबार(असार २९)देखि प्रर्दशनमा आएको चलचित्र ‘बगान’ को ग्रस कलेक्शनलाई लिएर चललिचत्र विकास वोर्ड र निर्माण पक्षबीच भनाई बाँझिएको छ ।
अभिनेता सरोज खनालको डेब्यू निर्देशनमा तथा सुरेश वाग्लेको निर्माणमा तयार भएको यो फिल्मले प्रर्दशनको १० दिनमा ६९ लाख ७८ हजार एक सय ९१ रुपैयाँ कमाइ गरेको विवरण निर्माण पक्षले सार्वजनिक गरेको छ ।
निर्माता वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट,डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार यो फिल्मले ६९ लाख ७८ हजार १९१ रुपैयाँ ग्रस कलेक्शन गरेको बताएका छन् ।
फिल्म निर्माण टिमले सामाजिक संजालमा १० दिनको कमाइ सार्वजनिक गर्दै लेखेको छ,‘हामीलाई वितरकहरु रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले दिएको जानकारी अनुसार ६९ लाख कलेक्सन भएको जानकारी गराउँछौं ।’ असार २९ बाट प्रदर्शनमा आएको ‘बगान’ले बक्स अफिसमा औसत ओपनिङ गरेको थियो ।
तर चलचित्र विकास बोर्ड सदस्य रवि अधिकारीले भने फिल्मले ३९ लाख नेट कमाई गरेको बताए ।‘बगान’ले पहिलो हप्ता मल्टीप्लेक्सहरुमा पाएको शोज दोस्रो हप्तासम्म आइपुग्दा ठूलो मात्रामा गुमाइसकेको छ । जसले गर्दा अब व्यापारमा ठूलो सुधारको सम्भावना भने कम देखिन्छ । यद्यपि, निर्माता र वितरकको कुरा सुन्ने हो भने बगान’ फेसबुकमा हिट भएको छ, भने हलमा कमजोर रहेको बुझिन्छ ।
तर,बक्स अफिसकै डाटालाई हेर्ने हो भने लगभग २७ लाख हाराहारीमा ग्रस कलेक्शन गरेको विकास बोर्ड स्रोतले जनाएको छ ।
अभिनेता सरोज खनालको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा उनी स्वयंको अभिनय छ भने अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिकामा अभिनय गरेकी छन् । उनको छोरीको भूमिकामा प्रमिला कार्की छिन् । फिल्ममा निर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल लगायतका कलाकारको पनि अभिनय छ ।
फिल्मले महिला सशक्तिकरण र एकल महिलाहरुको कथा भन्छ । आमाको पुनर्विवाह गराउन छोरीले गर्ने संघर्षमा फिल्म केन्द्रित छ । एकल महिलाहरुको बिहेको आवाज उठाउने यो फिल्मलाई सरोजले कमर्सियल पाटोबाट भन्दा पनि सन्देशमुलक पाटोबाट निर्देशन गरेका छन् ।