काठमाडौं,८ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ । गत साउन २ गतेदेखि जारी बैठकमा सोमबार महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका छन् ।
सोमबारको बैठकमा महामन्त्रीद्धयले यसअघि धारणा राख्ने केन्द्रीय सदस्यले लगाएको आरोपहरुको बारेमा जवाफ दिने कोशीस गरिरहेका छन् । आजको बैठकमा संस्थापन पक्षविरुद्ध महामन्त्री शर्मा कोही नरम देखिएका छन् भने थापा आक्रोशित देखिएका छन् ।
शर्माको तुलनामा थप आक्रोशित देखिएका थापाले पार्टी सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणाले आफुले पेस गरेको वार्षीक कार्य तालिकालाई एन्जीओको विसलिष्टजस्तो भनेकोमा जवाफ फर्काएका छन् ।
सोमबार केन्द्रीय समितिमा बोल्दै महामन्त्री थापाले आरजुको नाम नलिई भने,‘केही विद्वान साथीहरूले यो एनजीओको विसलिष्टजस्तो छ पनि भन्नुभयो। एनजीओमा धेरै काम नगरेको हुनाले मलाई यसबारे अनुभव त छैन।’
केन्द्रीय समितिको चौथो दिनको बैठकमा गत साउन ५ गते केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गरेकी थिईन् ।
उनले भनेकी थिइन् ‘राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त ? क्लियर भएन ।’