काठमाडौं, ९ साउन । एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपा विभाजन हुनुमा एक पक्षले अर्को पक्षलाई आरोप–प्रत्यारोप लगाउँदै आएका छन् ।प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले अहिले पनि बेला–बेलामा नेकपा व्युँताउने कुरा गरिरहेका छन् । एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधव नेपालले समेत बेला–बेलामा नेकपा व्युँताउने दम छ ? भनेर एमाले अध्यक्ष ओलीले सोध्ने गरेका छन् ।
२०७५ जेठ ३ गते माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले जिंगो बिलोबा (दोस्रो विश्वयुद्धमा जापानको नागासाकीमा परमाणु खसालेको छ महिनामा उम्रिएको वनस्पति, कठिन परिस्थितिमा पनि बाच्न र बौरिन सक्ने वनस्पति) रोपेर पार्टी एकताको औपचारिक घोषणा गरेका थिए ।
पार्टी एकता गरेर नेकपा बनाउने क्रममा प्रचण्डले नेकपामा माओवादी र एमाले नरहेको र नेकपा छुट्टै यौगिक बन्ने बताएका थिए । पार्टी एकताको क्रममा दुई नेताहरु बीच देखिएको आत्मियता र विश्वास भने लामो समय कायम रहन सकेन ।
झण्डै दुई तिहाईको बहुमतको नजिक रहेर अध्यक्ष ओली प्रधानमन्त्री बने । ओलीलाई प्रतिनिधि सभाका कूल २७५ सदस्यमध्ये एमालेका एक सय २१ र माओवादीका ५३ गरी एक सय ७४ सांसदको समर्थन थियो । तर, उक्त समर्थन ओलीले लामो समय टिकाइराख्न सकेनन् । २०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलासँगै नेकपा विभाजन भयो । नेकपा विभाजनपछि एमाले र माओवादी पुरानै हैसियतमा फर्किए । सत्ता साझेदार दलभित्रको आन्तरिक द्वन्द्वका कारण २०७८ वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदा ओलीले विश्वासको मत पाउन सकेनन् । उनलाई एमालेका सांसदले नै विश्वासको मत दिएनन् । एमालेभित्रै एक सय २१ सांसद भएपनि ओलीले त्यसबेला ९३ मतमात्रै पाए । फलतः उनी प्रधानमन्त्रीबाट पदमुक्त भए ।
सर्वोच्चको फैसलाले पार्टी विभाजन गराउनु अगाडि पनि ओली र प्रचण्डले फरक–फरक समूहको नेतृत्व गरिरहेका थिए । सर्वोच्चको फैसलामा ओलीको चाहनाअनुरुपको फैसला भनेर व्याख्या पनि हुने गरेको छ । किनकि नेकपा कसको हो भन्ने विवादमा सर्वोच्चले पार्टीलाई नै पुरानो अवस्थामा फर्काइदियो । कम्तिमा २० वर्ष कम्युनिष्टहरुले नै देश चलाउने संकल्पसहित भएको एकता तीन वर्ष पनि टिकेन् ।
नेकपा विभाजनबारेमा अनेक टीकाटिप्पणी हुने गरेको छन् । तर, प्रत्यक्ष साक्षीका रुपमा रहेका वामदेव गौतम नेकपा विभाजन हुनमा ओली र प्रचण्ड दुवै उत्तिकै दोषी रहेको बताउँछन् । नेकपा विभाजनपछि कतै पनि नलागेर नेकपा एकता अभियानका संयोजक बनेका गौतम नेकपा विभाजनको मुख्य कारण २०७६ साल मंसिर ४ मा बसेको सचिवालय बैकठ भएको बताउँछन् । दुई पार्टीबीच एकता हुँदा आलोपालो प्रधानमन्त्रीको भद्र सहमति भएपनि उक्त बैठकमा ओलीले चलाखी गरेर प्रचण्डलाई अध्यक्षको अगाडि कार्यकारीको पद थमाएको गौतमले बताए । त्यसपछि प्रचण्डले खुसी भएर ‘म दुई पटक प्रधानमन्त्री भइसकेँ । आगामी पाँचै वर्ष तपाई नै प्रधानमन्त्री बन्नुस्’ भनेर ओलीलाई भनेपछि प्रचण्डमा सुपर लिडर हुने अभिलाषा जागेको र ओलीमा पनि सुपर प्राइममिनिस्टर हुने अभिलाषा जाग्दा नेकपा विभाजनको अवस्थासम्म पुगेको उनको बुझाई छ ।
‘२०७६ साल मंसिर ४ गते सचिवालयको बैठकमा प्रचण्डलाई कार्यकारी भन्ने पद थपियो । कार्यकारी अध्यक्ष भन्ने थपियो । प्रस्ताव केपीले राख्नुभयो । प्रचण्ड खुसी भएर म कार्यकारी अध्यक्ष भएर काम गर्न पाएँभने दुई पटक प्रधानमन्त्री भइसकेको छु । मलाई प्रधानमन्त्री चाहिएन । पाँचै वर्ष प्रधानमन्त्री तपाईँ हुनुस् भनेर उहाँले छोड्दिनुभयो । केपी ओलीले त्यसलाई हार्दिक स्वागत गर्दै तुरुन्तै माइन्युट गर्नुस् भन्नुभयो,’– गौतमले भने ।
नेकपा विभाजनबाट पाठ सिकेर नेपालका कम्युनिष्टहरु अगाडि बढ्न आवश्यक रहेको गौतमको भनाई छ । कम्युनिष्ट क्रान्तिलाई अगाडि बढाउन र नयाँ गति दिनका लागि नेपालमा कम्युनिष्ट पार्टीबीच एकताको विकल्प नरहेको उनी बताउँछन् । File Photo/RN