Logo

‘१५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा स्थापित गराउन लागौं’ : गुरुङ



काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अहिले पार्टी सभापति बदल्ने कुरा असम्भव रहेको बताएका छन् । आज (मंगलबार) ४१औं विपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले नै सभापति बदल्ने कुरा आफूले नसक्ने र नभन्ने बताएका हुन् ।

पार्टीको १५औं महाधिवेशनमा भने सभापति बदल्नुको विकल्प नरहेको उनको भनाई छ । पार्टीलाई पुनर्जीवन दिन र रुपान्तरणको यात्रालाई सार्थक बनाउन १५औं महाधिवेशनमा डा. शेरखर कोइरालालाई सभापतिमा स्थापित गराउन आवश्यक रहेको उनले बताए । अब रुपान्तरण चाहनेहरुको अर्जुनदृष्टि १५औं महाधिवेशन हुनुपर्ने उनको भनाई छ ।

‘अहिले नै पार्टी सभापति बदल्न पर्छ म भन्न चाहन्न । सक्दिन म, भन्दिन पनि । तर, पार्टीको रुपान्तरणको यात्रामा अगाडि बढ्ने क्रममा १५औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने नै हो । त्यही कुरा हाम्रो लक्ष्य हो । हामीले त्यहीलाई तार्गेट गरेनौं भने १५औं महाधिवेशनमा पनि कही कतै फेरि हामी अल्मलिन सक्छौं ।’ उनले भने, ‘त्यसकारणले गर्दा हाम्रो अर्जुनदृष्टि भनेको १५औं महाधिवेशन हो । १५औं महाधिवेशन आउँदै गर्दाखेरि हामीले डा. शेखर कोइरालालाई सभापतिमा स्थापित गराउन सक्यौं भने रुपान्तरणको यात्रालाई हामीले अगाडि बढाउन सक्छौं भन्ने मलाई लाग्छ ।’



प्रतिक्रिया दिनुहोस्