काठमाडौं, १० साउन । लोक तथा दोहोरी गाएक एवं सर्जक नकुल ढकाल नविनले हिन्दु नारीहरूको ‘महान्’ पर्व हरितालिका तीजको अवसरमा नयाँ मौलिक तीज गीत सांङ्गीतिक बजारमा ल्याएका छन् ।
ढकालले करिब एक शताब्दी पहिलाको परिवेशलाई समेटेर सोही पोशाक, रितिरिवाज, संस्कार र चलनचल्तीलाई समेटेर मौलिक गीत ‘छोरी’ (महारानीको माइती यात्रा २) सार्वजनिक गरेका हुन् ।
गत वर्ष सार्वजनिक भएको उनको महारानीको माइती यात्रा नामक गीतको दोस्रो भागको रुपमा सार्वजनिक गीतमा ढकालसँगै पार्वती जिसी, सरस्वती लामिछाने, अस्मिता ढल्लाकोटी र रवि कार्कीले स्वर दिएका छन् ।
नकुल ढकालकै लय शब्द रहेको गीतमा तारानाथ आर्चायको संगीत संयोजन रहेको छ भने नकुल ढकाल, अनु पराजुली, अनिता बस्नेत,ध्रुब जिसी र मेनुका पुनलगायतको अभिनय रहेको छ ।
गीतमा बिहे गरेर दिएकी छोरीलाई घरका मान्छेहरुले तिजमा समेत माइत जान नदिने पुरानो चलन र सामाजिक मूल्य मान्यतालाई उजागर गर्न खोजिएको छ । गितका सर्जक ढकालले तीज गीतको मर्म र धर्मलाई वर्तमानमा सर्जक र कलाकारहरुले दूरुपयोग गररिरहेको गुनासो सम्बोधन हुनेगरी को महत्व र अर्थको बारेमा प्रस्ट्याउन खोजेको बताएका छन् ।