काठमाडौं, १३ साउन । थारू समुदायलाई संवैधानिक व्यवस्था र संघीय प्रणालीको सिद्धान्तअनुसार जनसंख्याको आधारमा राज्यको सबै संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित नगरिएको भन्दै थारू कानून व्यवसायी तथा अगुवाहरुले गुनासो गरेका छन् ।
आदिबासी थारू कानुन न्याय तथा मानवअधिकार समाजले (शनिबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख अतिथ्यतामा तथा समाजका अध्यक्ष अधिवक्ता महेश्वरप्रसाद चौधरीको अध्यक्षतामा आयोजना गरेको विचार गोष्ठीमा अगुवा तथा विज्ञहरुले गुनासो गरेका हुन् । थारू समुदाय तराईका मूल आदिबासी, चौथो ठूलो जाति समुदाय तथा आदिबासीको दोस्रो ठूलो जातीय समुदाय भए पनि राजनीतिक, आर्थिक तथा अन्य पक्षमासमेत कमजोर रहेको अगुवाहरुको ठहर छ ।
राजनीतिक दलमासमेत थारू समुदायका प्रतिनिधिलाई नेतृत्वमा नलगेर पार्टीको कारिन्दा मात्र बनाएको उनीहरुको गुनासो छ । नयाँ संविधानमा गरिएको व्यवस्थाअनुसार समानुपातिक सिद्धान्तको आधारमा राज्यको कुनै पनि संयन्त्रमा थारूको सहभागिता सुनिश्चित नगरिएको भन्दै उनीहरुले आपत्ति जनाए ।
अधिवक्ता तथा थारू अगुवा बुद्धसेन चौधरीले थारूलाई राजनीतिक दलले सदियौंदेखि प्रयोगमात्र गरेको बताए । कुनै पनि राजनीतिक दलमा थारूलाई समानुपातिक सिद्धान्तका आधारमा नेतृत्व तहमा सहभागिता नगराएको उहाँको भनाइ छ । संविधानले व्यवस्था गरेको विषय समेत कार्यान्वयनमा नल्याई राज्यमा बसेकाहरुले बदमासी गरेको उनको आरोप छ ।
थारू कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले संविधानले थारू क्लष्टर निर्माण गरे पनि सोअनुसारको कानुन निर्माण नहुँदा आरक्षणको विषयमा समस्या भइरहेको बताए । थाकसले सर्वोच्चमा लामो समयदेखि मुद्दा मामिलामा संघर्ष गरे पनि अझै सोचेजस्तो उपलब्धी हात नलागेको उनको भनाई छ । सर्वोच्चले दिएको परमादेशअनुसार पछिल्लो नौ महिनामा सबै कानुन बनाइसक्नुपर्ने भएकाले त्यसका लागि थारू सांसद्ले भूमिका खेल्नुपर्ने उनको माग छ ।
पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरीले राज्यको चरित्र नै सामन्ती शैलीको भएकाले थारू समुदायले अधिकार नपाएको गुनासो गरे । संविधानमा सुनिश्चित भएका विषय समेत कार्यान्वयन गर्नमा दलका नेताहरु कन्जुस्याइ गरिरहेको उनले टिप्पणी गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, लालबीर चौधरी, कल्पना चौधरी, अशोक चौधरी लगायत थारु अगुवाहरु मिनराज चौधरी, सिएन थारु, सुन्दरलाल चौधरी, थारू नेतृ रुक्मिणी चौधरी, कुछतनारायण चौधरी, सत्रुघन चौधरी, शान्ति चौधरी, थारु पत्रकार संघका अध्यक्ष प्रदिप लेखी, उपाध्यक्ष सहदेव चौधरी लगायत विभिन्न संघ संस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Photo By : Dinesh Chaudhary/Reporters Nepal