काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता गोविन्दबहादुर शाहले सुन तस्करी प्रकणमा एमालेले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई धन्यवाद दिनुपर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले इतिहासमै नभएको सुन पक्रेकाले राजीनामा माग्ने नभएर एमालेले सरकारलाई धन्यवाद दिन आवश्यक रहेको बताएका हुन् ।
‘राजीनामा माग्दैमा दिनुपर्ने कुरा होईन । धन्यवाद दिनुपर्ने हो, उहाँहरुले । प्रतिपक्ष दलका अहिले जति पनि संसद् अवरुद्ध गर्ने पार्टीहरुले छ, गृहमन्त्री, प्रधानमन्त्री र अर्थमन्त्रीलाई धन्यवाद दिनुपर्ने हो । इतिहासमा नभएको तेत्रो सुन पक्रेर बुझाएको छ,’– उनले भने ।
हङ्कङ र नेपालकाबीच अवैध वस्त्ुहरु भित्रिदै गर्दा सूचना दिनेबारे सहमति भएको उल्लेख गर्दै उनले हङ्कङको एयरपोर्टले नेपाल सरकारलाई उक्त सुन प्रकरणमा सूचना किन नदिएको हो भन्ने बुझ्नका लागि अर्थमन्त्रालय मातहतको भन्सार विभागले हङ्कङमा पत्र पठाइसकेको उनले बताए । साथै, सरकारले सुन पगाल्ने मेसिनसमेत नियन्त्रणमा लिइसकेको उनको दाबी छ । सुन तस्करी प्रकरणको जरा लामा–लामा रहेको उल्लेख गर्दै उनले यसमा सरकारलाई निश्पक्ष छानविन गर्न दिन आवश्यक रहेको बताए ।
‘नेपालमा सबैभन्दा ठूलो सुन पगाल्ने मेसिन पक्रिसक्यो नि सरकारले । सरकारलाई छानविन गर्न दिनुपर्यो । यसका जरा लामा–लामा टाढासम्म छ । जरालाई पक्रन दिनुपर्यो । संसद् अवरुद्ध गरेर रोक्नुभएन,’– उनले भने ।