काठमाडौं,१५ साउन । राप्रपाको केन्द्रयि कार्यालय रहेको धुम्बराहीस्थित भवन भत्काउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रयास आजको लागि विफल भएको छ ।
राप्रपाको कार्यालय रहेको भवन बिजुलीको हाइटेसन मुनी रहेको भन्दै महानगरले गत शुक्रबार आजसम्मको म्याद दिएर भवन खाली गर्न उर्दी जारी गरेको थियो ।
महानगरले जारी गरेको उर्दी राप्रपाले नमानेपछि आजविहानै भवन भत्काउन ३०० जना भन्दा धेरेको संख्यामा नगर प्रहरी खटाएर महानगरपालिकाका मेयर बालेन शाहले डोजर पठाएका थिए ।
महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पुगेपछि राप्रपाका नेता कार्यकर्ताको अवरोध र शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको परामर्शपछि आजका लागि कार्यालय जोगिएको हो ।
नगरप्रहरी डोजरसहित पुगेपछि राप्रपाका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । उता राप्रपाका केही नेताहरुले महानगरलाई लिखित पत्र लेख्दै कार्यालय खाली गराउन ३५ दिनको समयसमेत माग गरेका छन् ।
राप्रपाले पठाएको पत्रबाट मेयर शाह आक्रोशित बनेको स्रोतले जनाएको छ । मेयर शाहले राप्रपाको पत्रका सम्बन्धमा भोलि थप छलफल गरेर कदम चाल्ने तयारी गरेका छन् ।