काठमाडौं,१६ साउन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा प्रदेश प्रमुखले संविधानको उल्लंघन गर्दा कोशीमा सरकारविहीनताको अवस्था सिर्जना भएको बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कार्कीले सर्वोच्च अदालतले गरेको फैसलालाई प्रदेश प्रमुखले गठबन्धनको दबाबमा परेर अवमूल्यंन गरेको आरोप लगाए ।
‘प्रदेश प्रमुखज्यूबाट इन्टरप्रिटेशन गर्ने काम भयो’, उनले भने,‘सर्वोच्च अदालतले भने अनुसारको काम हुनुपर्ने त्यो भएन, एमाले दुई दिनका लागि बलजफ्ती गर्ने कुराको विपक्षमा छ।’
‘प्रदेश प्रमुखज्यूले जानेर गर्नु भयो या गठबन्धनको प्रभावमा परेर गर्नुभयो, यो उहाँले जान्ने कुरा हो, कार्कीले भने, ‘फैसला कार्यान्वयन गर्ने कुरामा त्रुटि भएकै छ।’