Logo

एक युवाले ‘अब कहिल्यै देश फर्किन्न’ भनेपछि झस्किए बाबुराम



काठमाडौं, १७ साउन । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) को बैठकमा छलफलका लागि दस्तावेज पठाएका छन् । आजदेखि सुरु भएको माओवादी केन्द्रको बैठकमा भट्टराईले विभिन्न तीन खण्डमा लेखिएको दस्तावेज इमेलमार्फत पठाएका हुन् ।

उनले आफ्नो दस्तावेजमा युवाहरु विदेश पलायन हुनुलाई राजनीतिज्ञले गम्भीर रुपमा लिने दिन आएको कुरा उल्लेख गरेका छन् । उनले जनता र युवाले देशमा उज्ज्वल भविष्यको सपना देख्न छोडिसकेको उल्लेख गरेका छन् । हिजो राजनीतिक क्रान्तिको नेतृत्व गर्नेहरुले उनीहरुलाई नेपालमै सुन्दर भविष्य देखाउन नसकेको हो कि भन्ने लागेको उल्लेख गरेका छन् । आफ्नो दस्तावेजमा उनले पश्चिम तराईको घटनालाई यसरी प्रस्तुत गरेका छन्ः

हालैको घटना हो । पश्चिम तराईमा राति दश वजेतिर एकजना साथीको घरमा खाना खाएर सुत्ने तरखरमा थिएँ । पल्लो घरका एकजना युवा आएर फोटो खिच्ने इच्छा गरे । मैले भने– ‘भोलि विहान
उज्यालोमा खिच्दा हुन्न?’ । उनले भने–‘म अहिल्यैविदेशतिर हिड्न लागेको ।’ फोटो खिचिसकेपछि मैले पुनः सोधे– ‘बाबु फर्किएर त आउनु होला नि !’ उनले विना हिच्किचाहट भने– ‘म अब कहिल्यै यो देश फर्किन्न !’ म स्तब्ध भएँ ।

पछि बुझेँ– ती २२ वर्षीय शिक्षित युवा क्रोएशिया हुँदै यूरोप जान लागेका रहेछन् । राति अवेरसम्म निद्रा लागेन । मनमा कुरा खेलिरहे – हामी ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ भन्छौं । तर त्यो युवालाई आफ्नै मातृभूमिप्रति त्यति धेरै वितृष्णा किन भयो ? मसँग उनले किन फोटो खिचे ? शायद ‘पूर्व प्रधानमन्त्री’ भनेर होला ! तर भोलि सीमा कटेपछि उनले डिलिट गर्लान् कि राख्लान् ? आफ्ना देशका नागरिकलाई देशभित्रै रोजगारी दिन नसक्ने कस्तो नालायक प्रधानमन्त्री भनेर डिलिट पो गर्लान् कि ?



प्रतिक्रिया दिनुहोस्