Logo

राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ : अर्थमन्त्री डा महत



काठमाडौं, १८ श्रावण । अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन्। बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए।

मन्त्री डा महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए। तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा प्रश्न गर्न सकिने उनको भनाइ थियो।

“हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दियौँ भने राजस्व कम उठ्छ”, उनले भने।

जायज कुरालाई नजायज बनाउन थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चितरूपमा व्यवसायीले अर्को बाटो रोज्ने उनको भनाइ थियो। “राजस्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुन्छ। भन्सार नाकाभन्दा बाहिरबाट मालवस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ”, मन्त्री महतले भने।



प्रतिक्रिया दिनुहोस्