काठमाडौं,१९ साउन । दोलखामा अविरल वर्षासँगै पहिरो जाँदा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।
बिहीबार साँझ बेपत्ता भएका ३ वर्षीय बालक प्रिन्स थामीको शव आज फेला परेको हो ।
जिल्लाको उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहिबार साँझ करिब ५ बजे छिमेकी वडा खारे तर्फको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो। मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाका अनुसार पहिरोबाट पहिरोले बस्तीका ५ घर पुरेको छ। पहिरोमा परेर स्थानीय ५४-५५ बर्षका कृष्णबहादुर मगर, सोही उमेर हाराहारीका उनकी श्रीमती देव मगर, ५३-५४ बर्षका हरिलाल श्रेष्ठ र ३ बर्षको बालक प्रिन्स थामी बेपत्ता भएका थिए ।
पहिरोमा परेर स्थानीय यज्ञ थामी,उनकी श्रीमती धनकुमारी थामी र बुहारी सरिता थामी गम्भीर घाईते छन् । उनिहरुलाई हेलिकप्टर मार्फत राजधानी पठाउने प्रयास भईरहेको छ । आज शव फेला परेका बालक प्रिन्स घाइते सरिताका छोरा हुन् ।