Logo

मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा



काठमाडौं, १९ श्रावण । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुद राष्ट्रिय मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

आयोगको कार्यालयमा शुक्रबार मानवअधिकार अभिलेख केन्द्रको उद्घाटन पश्चात् मन्तव्य राख्दै उनले मान्छेको टाउकोको मूल्य तोक्ने र चरम द्वन्द्वको समयमा पनि आयोगले गरेको काम महत्त्वपूर्ण रहेको बताए।

“साधनस्रोतको सीमितताका बावजुद पनि आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ, चरम द्वन्द्वको समयमा सबै अप्ठ्यारोका बावजुद पनि जुन भूमिका निर्वाह गर्दै आएको छ, यो आफैँमा महत्त्वपूर्ण छ । मानव सेवाको काम पनि हो भन्ने मलाई लाग्छ, यो पुण्य कामका आधारमा तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ । मान्छेको टाउकोको मूल्य तोक्ने समय र चरम द्वन्द्वको समयमा आयोगले बोलिदिने कुराले महत्त्वपूर्ण प्रभाव पाथ्र्याे र राहत हुन्थ्यो”, मन्त्री शर्माले भने।

उनले मानवअधिकारलाई बाहिर भएका डकुमेन्टहरू पनि सङ्कलन गरेर राख्न र अभिलेखलाई डिजिटलाइज गरेर राख्ने प्रबन्ध मिलाउन आग्रह गरे।



प्रतिक्रिया दिनुहोस्