Logo

प्रचण्डले ८०/९० वर्षसम्म पार्टीको नेतृत्व गर्नुपर्छः केन्द्रीय सदस्य पन्त



काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लक्ष्मण पन्तले पार्टी निर्माणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुध्रिन जरुरी रहेको औंल्याएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड सुध्रिने आशा बाँकी नै रहेको बताए । पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले सिरियस भएर कमिटमेन्ट गरेकोसमेत उनले बताए ।

उनले पार्टी कमिटीमा आलोचनात्मक चेतको विकास हुन जरुरी रहेको बताए । पार्टीका नेता र कमिटीहरु नेतृत्वको भजन मण्डलीको रुपमा विकास हुँदै गएको खण्डमा पार्टीले कालन्तरमा ठूलो क्षती व्यहोर्नुपर्ने उनको दाबी छ । दरबारियाहरु राजाको भजन मण्डलीको रुपमा विकास हुँदै जाँदा अन्ततः राजतन्त्र नै समाप्त भएको उनको टिप्पाणी छ ।

‘माओवादी पार्टी कस्तो बनाउने भन्दाखेरी आलोचनात्क चेत भएका कमरेडहरुको समूह बनाउने । आलोचनात्मक चेत हुनुपर्यो । नेतृत्वको भजन मण्डली हुनु भएन । हामीले राजतन्त्रको किन अन्त्य गर्यौं भन्दा दरबारियाहरु नेतृत्वको भजन मण्डलीमा रुपान्तरण भए । लास्टसम्म उनीहरुले के रिपोर्ट गरे भन्दा ज्ञानेन्द्र सरकार तपाईको राज्यमा एकदमै शान्ति, सुरक्षा छ, जनताले दुधभात खाएका छन् भने । लास्टमा ज्ञानेन्द्र जानुपर्यो,’– उनले भने ।

यही तरिकाले प्रचण्ड र प्रचण्ड परवारको महिमा मण्डन गर्ने हो भने अन्ततः पार्टी विघटन हुने उनको दाबी छ । आफ्नो व्यक्तिगत लाभ लिनका लागि नेतृत्वको प्रशंसा गर्नेको संख्या माओवादीमा ठूलो रहेको उनले बताए । उनले हिजो (शुक्रबार) को केन्द्रीय कमिटीको बैठकमा प्रचण्ड परिवार निकट केन्द्रीय सदस्यले कुनै न कुनै लाभ लिएर उनीहरुको प्रशंसा गरेको बताए ।

उनले पार्टीभित्र आफ्नो व्यक्तिगत स्वार्थ केही नभएर केवल पार्टी सुधार होस्, पार्टी बनोस् भन्ने चाहनामात्रै रहेको बताए । प्रचण्डले ८०/ ९० वर्षसम्म पार्टीको नेतृत्व गर्न पर्ने बताउँदै उनले प्रचण्ड पारिवारिक मोहबाट बाहिर आएर अहिलेको कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘मेरो आफ्नो स्वार्थ भन्ने केही छैन । पार्टी बनोस् । प्रचण्डले लि क्वानयु, महाथिर मोहमद ८०/९० वर्षसम्म पार्टीको नेतृत्व गर्नुपर्छ तर यो कार्यशैली र पारिवारिक मोहबाट अलग भएर सहिद परिवारलाई हेर्न पर्यो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्