काठमाडौं, २० श्रावण । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेश आफ्नो मत थाँती राखेरै भएपनि पालना गरेको बताएका छन्।
शनिबार केन्द्रीय समितिको बैठकमा बोल्दै उपमहासचिव शर्माले पार्टी अध्यक्ष ‘प्रचण्ड’को आदेश आफ्नो मत थाँती राखेरै भएपनि पालना गरेको बताएका छन्।
उनले भने, ‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु। स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु। परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै सङ्कट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु। होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि। तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ।’
यस्तै उनले अध्यक्ष दाहाललाई कुन अप्ठ्यारोमा आफूले साथ नदिएको भन्दै प्रश्नसमेत गरेका छन्। उनले भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्यो–कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन? तल-तल कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला। समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ। चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्यो होला।’