काठमाडौं, २१ श्रावण । गैरआवासीय नेपाली संघ(एनआरएनए)को युवा संयोजकमा रविन अधिकारीले उम्मेद्वारी दिने भएका छन्।
लिस्वनस्थित युवा व्यवसायी अधिकारीले संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने ११ औं महाधिवेशनमा सो पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी गैरआवासीय नेपाली संघ प्रोर्चुगलका निवर्तमान अध्यक्ष समेत हुन्।
‘संघको साधारण सदस्य देखी एनआरएनए प्रोर्चुगलको अध्यक्ष समेत भएर काम गर्ने अवसर पाए, अब केन्द्रीय नेतृत्वसंग मिलेर काम गर्ने बिचार गरेको छु’ उनले भने।
उनी यसअघि एनआरएनए प्रोर्चुगलको युवा संयोजक समेत थिए। धादिङमा जन्मिएका अधिकारले सन् २०१३ देखि प्रोर्चुगलमा व्यवसाय गर्दै आएका छन्। उनको रेष्टुरेन्टलगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ।
संघको आगामी महाधिवेशनको लागि विभिन्न पदमा उम्मेदवारी घोषणा आउने क्रम जारी रहेको छ। यसअघि अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा, डा. हेम राज शर्मा, महेश श्रेष्ठ र आरके शर्माले उम्मेदवारी दिने घोषणा गरेका छन्।
महासचिवमा गौरीराज जोशीले उम्मेदवारी दिने तयारी गरेका छन्।